समाचार

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

By खबरहब

February 12, 2023

तेह्रथुम- गाउँमा अस्पताल भए पनि विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागी धरान विराटनगर नै पुग्नुपर्छ। गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरू भए पनि सुविधा सम्पन्न अस्पतालहरू अझै स्थापना भएका छैनन्। विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरूले महँगा र टाढा रहेका अस्पतालहरूबाट स्वास्थ्य सेवा लिन मुस्किल बन्दै आएको छ। यी र यस्तै समस्यामा रहेका नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ छथर गाउँपालिका तेह्रथुमले विजयपुर अस्पतालसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

गाउँको केन्द्रमा निःशुल्क  रूपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले सेवा लिएका थिए। धरान विराटनगर लगायतका अस्पतालहरूमा सेवा लिन लाइनमा बस्नु पर्ने, पैसा नहुँदा उपचार नगरी घर फर्किनु पर्ने समस्या भइरहँदा पाइएको सेवाले राहत मिलेको छथर ५ ओख्रेकी ७६ वर्षकी मनमाया खड्काले बताइन् ।

उनी भन्छिन्, ‘पहिले पहिलो यस्तो उपचार पाउन गाह्रो हुन्थ्यो। धरान विराटनगर पुगेर सेवा लिन पनि लाइनमा बसेर पालो कुर्दै आफ्नो उपचार गर्नु पर्छ। घर नजिकै सेवा पाउँदा खुसी लाग्यो,।’ खड्का जस्तै छथर २ का नरबहादुर बस्नेतले पनि शिविरमा सेवा लिए। उनले स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा राहत मिलेको बताए। विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरूले अझै सुविधा सम्पन्न अस्पतालबाट सेवा लिन पाएका छैनन्। लामो समयदेखि दीर्घ रोगी बिरामीहरूले सेवा पाएका छन्।

शिविरमा विभिन्न रोगहरूको निःशुल्क सेवा प्रदान गरिएको विजयपुर अस्पतालका अध्यक्ष तथा निर्देशक पंकज खतिवडाको भनाइ छ । उनका अनुसार हाडजोर्नी, दन्त सेवा, स्त्री रोग, छाला, बाल रोग, आँखा रोग लगायतका सेवा निःशुल्क दिइएको थियो। नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ छथर अस्पताल र विजयपुर अस्पतालबीच सम्झौता भएको जनाइएको छ।

छथर गाउँपालिकाले गरेको विपन्नताको सिफारिसको आधारमा निःशुल्क सेवा पाउने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘अब छथर गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधि र नागरिकहरूले विजयपुर अस्पतालमा सुलभ विशेषज्ञसहितको सेवा पाउने भएका छन्,’ तिगेलाले भने । शिविरमा गाउँपालिका २३९ जनाले सेवा लिएका छन् । एक दर्जन बढी चिकित्सकहरूले विभिन्न रोगका बिरामीहरूलाई सेवा दिएका थिए । स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि उपचार पाउँदा यहाँका नागरिकलाई राहत मिलेको छ ।