फाइल फोटो

आर्थिक

बजेटको आकार दुई खर्ब ४४ अर्बले घटाइयो

By खबरहब

February 12, 2023

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन् । 

चालु आवमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।