फाइल तस्वीर- एएनआई/रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानमा लडाकुको आक्रमणमा वृद्धि

By खबरहब

March 12, 2023

काठमाडौँ- पाकिस्तानमा लडाकुको आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार अघिल्लो महिना मुलुकमा लडाकु समूहको आक्रमणका घटना बढेको पाइएको हो ।

गत महिना पाकिस्तानमा सक्रिय तालिबान समूहले मुलुकको ठूलो सहर कराँचीमा रहेको प्रहरी मुख्यालयमा आक्रमण गरेका थिए । तहरिक ए तालिबान पाकिस्तान (टीपीपी) ले गराएको उक्त आक्रमणलाई फेब्रुअरी महिनाकै सबैभन्दा खतरनाक आक्रमण भएको डनले जनाएको छ ।

पाकिस्तानमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिजका अनुसार लडाकुहरुले गत महिना ५८ वटा आक्रमण गरेका थिए ।

ती आक्रमणमा ६२ जनाको मृत्यु भएको जनाइएको छ । मारिनेमा २७ जना सर्वसाधारण, १८ जना सुरक्षाकर्मी र १७ जना लडाकु रहेको डनले उल्लेख गरेको छ ।

त्यसैगरी, सो अवधिमा आक्रमणका घटनामा १३४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा ५४ जना सर्वसाधारण र ८० जना सुरक्षाकर्मी रहेको बताइएको छ ।