देश/प्रदेश

झुटा तथा भ्रामक सूचनाको समस्यालाई सम्बोधन गर्न कार्यशाला हुँदै

By खबरहब

March 12, 2023

काठमाडौँ- नेपालमा झुटा तथा भ्रामक सूचनाको विस्तार भइरहेको सन्दर्भमा यस्ता समस्यालाई सम्बोधन गर्न युथ इनोभेसन ल्याबले कार्यशाला आयोजना गर्ने भएको छ ।

युथ इनोभेसन ल्याबले सातै प्रदेशमा ‘अन्डरस्ट्यान्डिङ मिसइन्फर्मेसन एण्ड डिसइन्फर्मेसन’ विषयमा प्रदेशस्तरीय कार्यशाला आयोजना गर्न लागेको हो ।

युथ इनोभेसन ल्याबले विज्ञप्ति जारी गर्दै कार्यशालाको उद्देश्य युवा पत्रकार, कन्टेन्ट क्रिएटर, अभियन्ता, र युवा नेताहरूलाई झुटा तथा भ्रामक समाचारविरुद्ध ज्ञान र सीपहरू प्रदान गर्नु रहेको जनाएको छ ।

दुई दिने प्रदेशस्तरीय कार्यशालामा नेपालभरबाट कुल १ सय ४० जना प्रशिक्षकले प्रशिक्षण तालिम दिने जनाइएको छ । नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहायतामा, युथ इनोभेसन ल्याबद्वारा कार्यशालाको आयोजना गर्न लागिएको हो ।

कार्यशालामा सहभागी हुन चाहनेले २८ मार्च २०२३ बेलुकी ५ बजेसम्म अनलाइन फारम भर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।