ब्रेकिङ स्टोरी

उद्योग वाणिज्य महासंघको मतदान जारी

By खबरहब

April 12, 2023

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान अहिले चलिरहेको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिला गरी सुरु भएको हो ।

निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन्। महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् ।