अपराध

इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

By खबरहब

April 12, 2023

काठमाडौँ- इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई लाजिम्पाटबाट मंगलबार पक्राउ गरिएको हो ।

उनले वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायलबीच हुने जीटूजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगरले पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि विभागमा पठाइएको छ ।