देश/प्रदेश

पानीको स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण

By खबरहब

June 12, 2023

महोत्तरी– महोत्तरीको जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । यस क्षेत्रमा पछिल्लो समय धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ ।  

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले स्रोत सुकेपछि नगरका विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए । 

१२ वटा वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकलमा पानी आउन छाडेको छ । 

मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए ।  

जलेश्वरमा यसअघि कहिल्यै पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास, गौशाला, भङ्गाहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ ।  

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको जानकारी दिए ।