ब्रेकिङ स्टोरी

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

By खबरहब

July 12, 2023

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरु रेणू दाहाल र गंगा दाहालले दागबत्ती दिए ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।