ब्रेकिङ स्टोरी

राजकीय सम्मानसहित पशुपतिमा सीता दाहाल अन्तिम विदाई (तस्वीरहरू)

By खबरहब

July 12, 2023

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरू रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिए ।

अन्त्येष्टिअघि पशुपति आर्यघाटमै पुगेर दाहाललाई पूर्वप्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षाकर्मीलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा  राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो । नर्भिक अस्पतालबाट दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।

हृदयाघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो ।