तस्वीर- पाकिस्तान अब्जरभर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा कामचलाउ प्रधानमन्त्रीका रुपमा सिनेटर अनवार उल हक काकर नियुक्त

By खबरहब

August 12, 2023

इस्लामावाद- पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।

राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यससम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर मार्च २०१८ देखि पाकिस्तानीे सिनेटका सदस्य रहँदै आएका छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको सिनेटमा निर्वाचित भएका थिए ।