अन्तर्राष्ट्रिय

अफगानिस्तानबारे रुसमा आयोजना हुन लागेको सम्मेलनमा भारत पनि सहभागी हुने

By खबरहब

August 12, 2023

नयाँ दिल्ली- अफगानिस्तानमा विकसित घटनाक्रमबारे छलफल गर्न रुसमा आयोजना हुने सम्मेलनमा भारत पनि सहभागी हुने भएको छ ।

रुसको कजान सहरमा आगामी सेप्टेम्बर २९ मा अफगानिस्तानमा स्थायीत्व एवम् समावेशी सरकार गठनका विषयमा सम्मेलनको आयोजना हुँदैछ । भारतीय विदेश मन्त्रालयले उक्त सम्मेलनमा सहभागिताबारे पुष्टि गरेको हो ।

सम्मेलनमा भारत र रुससँगै अफगानिस्तानका छिमेकी मुलुकहरु इरान, चीन, पाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान सहभागी हुने भारतको इटी समाचार संस्थाले जानकारी दिएको छ ।

सम्मेलनमा अफगानिस्तानबाट उत्पन्न हुने सुरक्षा चिन्ताबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

सन् २०१७ बाट सुरु गरिएको मस्को शैलीको यस्तो सम्मेलन यसअघि गत वर्षको नोभेम्बर महिनामा आयोजना गरिएको थियो ।