फाइल फोटो

राजनीति

राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल

By खबरहब

August 12, 2023

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा गरिबी पछौटेपनको अन्त्य गरी विकास तथा समृद्धि कायम गर्न कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् ।

पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए ।

कम्युनिस्ट सिद्धान्तमा वैज्ञानिक समाजवादको मार्गदर्शन रहेकाले वामपन्थी शक्ति संवेदनशील हुनुपर्ने बताउँदै उनले विश्वका धेरै मुलुकमा अहिले कम्युनिस्ट सिद्धान्त लोकप्रिय बन्दै गएकाले समाजवादी व्यवस्था कार्यान्वयनमा सहजता आएको विचार व्यक्त गरे ।

सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उनले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।