देश/प्रदेश

प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’

By खबरहब

August 12, 2023

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’ भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।

मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी गरिएको निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पारे।

“दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागू गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुटवेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्”, प्राधिकरणका प्रवक्ता निरौलाले भने ।

मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो ।

प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६ः३० देखि मध्याह्न १२ः३० को समयावधिलाई अपरेसन आवर मानिन्छ ।