नेपालमा पछिल्लो समय महिला प्रजनन स्वास्थ्यमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडी)को समस्या बढ्दै गएको छ। समान्यतया २० देखि ४० वर्षका महिलामा यो समस्या धेरै देखिने गरेको छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलामा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) ५ देखि १० प्रतिशत महिलामा देखा पर्दछ। १० मध्ये एक जना महिलालाई पोलिसिस्टिक ओभरी सिन्ड्रोमले असर पर्ने गर्छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम ? के कारणले हुन्छ ? लक्ष्णहरु कस्ता देखिन्छन् ? यो कस्तो समस्या हो ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. निभा ओझासँग गरिएको कुराकानीको सम्पादित अंशः
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओडी)को समस्या भनेको के हो ? महिलाको पाठेघरको छेउ छेउमा भएको अन्डालाई ओभरी भनिन्छ। प्रत्येक महिनामा उक्त अण्डा एउटा बन्नुपर्छ तर त्यसमा धेरै नै बन्यो भने त्यसलाई पोलिसिस्टिक ओभरीयन्स भनिन्छ।
कस्ता महिलामा यो समस्या हुने हो ? पहिलाको तथ्यांक हेर्दा यो बच्चा पाउने उमेरका महिलामा वा यो विशेष गरी २० वर्षदेखि हुने भनिन्छ। तर यो १४ वर्षका केटीहरूमा देखिन्छ। महिनावारी समयमा नहुने र कसैको सामान्य महिनावारी हुनेमा पनि अल्ट्रासाउन्ड गर्दा २० प्रतिशतमा यो समस्या देखिन्छ। अहिलेको परिवेशमा भन्नु पर्दा नयाँ जीवनशैलीमा खानाहरू धेरै छ र व्यायाम थोरै छ। जसमा मोटोपनाले पनि विभिन्न रोगहरू बढाएको छ।
यो समस्या हुँदा कस्ता कस्ता लक्षणहरू देखा पर्दछन् ? पोलिस्टिक ओभरीयन्स भनेको तीन ओटा आधार हुन्छन्। एउटा कोही महिलामा महिनावारी समयमा भएन भने यो हो कि भनेर बुझ्नुपर्ने हुन्छ। कसैलाई बच्चा चाहिएको छ। तर, बच्चा भएको छैन भने पनि यो हो कि भनेर शंका गर्नुपर्छ। यसका साथै पेट र पिठ्युमा अतिरित्त रौं पलाउने, अत्याधिक कपाल झर्ने, अनुहारमा बारम्बार डन्डिफोर आउने, शरीरको तौलमा वृद्धि हुने, गर्भधारणमा समस्या आउने, मानसिक समस्या डिप्रेसन वा एन्जाइटी देखापर्ने, यौन स्वास्थ्यमा समस्या आउने लगायतका लक्षण पनि देखिन सक्छन्। आफ्नो उमेर र लक्षणका आधारमा जाँच गरेर समस्याको पहिचान हुन्छ।
दीर्घकालीन रूपमा यसले कस्तो असर गर्छ ? जो महिलामा पोलिसिस्टिक ओभरीयन्स धेरै रहेको हुन्छ। एउटा मात्र अन्डा बन्ने ठाउँमा धेरै अन्डाहरू बन्ने हुँदा हाम्रो शरीरमा यो स्टेचिङ भन्ने हर्मनहरु धेरै बन्ने हुन्छ। त्यस्तो हुँदा ४० वर्ष कटेपछि अरू महिलाको तुलनामा उनीहरूमा पाठेघरको क्यान्सर धेरै देखिने हुन्छ। मोटोपना धेरै हुने, इन्सुलिनको मात्रा पनि बढ्ने हुनाले मुटुमा समस्या देखिने हुन्छ। यसका साथै बाँझोपनको समस्या हुनसक्छ। गर्भपात वा समय नपुगी बच्चा जन्मिने हुनसक्छ।
यो समस्याको अस्पतालमा कसरी उपचार गरिन्छ ? यसको लागि कोही महिलालाई पोलिस्टिक ओभरीयन्सले के समस्या भएको छ। पहिला त्यसको हामीले उपचार गर्छौ। यसको कारणले नै महिलामा महिनावारी एकदमै बिग्रिएको छ, दुईदेखि ६ महिनाको अन्तरालमा महिनावारी भएको छ भने हामीले समयमा महिनावारी हुने औषधि दिन्छौँ। खानपानमा ध्यान दिने आफ्नो तौललाई सही राख्ने, दारी रौँहरू आएको छ भने त्यसको उपचार गर्छौँ। मुख्यतया जीवनशैलीमा सुधार खानपानमा ध्यान दिने भनेको एउटा उपचार पद्धति मात्र हो। कतिलाई सामान्य छ भने जीवनशैलीमा सुधार खानपानमा ध्यान दिँदा पनि निको हुन्छ। तर यत्ति गर्दा पनि निको नभए हामीले अन्य औषधिहरू पनि चलाउँछौँ। त्यत्तिले पनि भएन भने अप्रेसन पनि गर्नुपर्दछ। कुन र कतिसम्म उपचार चाहिन्छ उहाँहरूको अवस्था हेरेर थाहा हुन्छ।
यस्तो समसया नै नआओस् भनेर के के कुरामा ध्यान दिने त ? सुरुदेखि नै हाम्रो खानपानलाई ध्यान दिने, तौललाई मिलाउने गर्यो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ। यो समस्या विशेष गरी मोटोपना र खानपानले धेरै ल्याएको छ। पहिलाको तुलनामा यो रोग बढनुको कारण पनि पहिलाका महिला वा गाउँघरका महिला धेरै काम गर्ने गर्दथे। तर अहिले महिलाहरू धेरै पसिना बगाउने खालका काम गर्दैनन्। मोबाइल फोन मात्र चलाउने हुँदा पनि धेरै रोगहरू देखिएका छन्। त्यसैले हामीले खानपान र जीवनशैलीलाई परिवर्तन गर्दा पोलिस्टिक ओभरीयन्स मात्र नभई अरू लामो समयसम्म हुने समस्यालाई पनि रोक्न सक्छौँ।