मेरुदण्डको हड्डी मानिसको जीवनरेखा जस्तै हो।यो नहुँदा हामी सिधा उभिन पनि सक्दैनौँ।मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ।धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका सिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सक बताउँछन्।यस्तै सुत्ने विस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिनसक्छ।मेरुदण्डले मानिसको तौललाई धान्ने स्नायु प्रणालीको समेत महत्वपूर्ण भाग रहेको चिकित्सकको भनाइ छ। मेरुदण्डमा कस्ता–कस्ता समस्या देखा पर्दछन् ? यो समस्या देखिएपछि समयमा उपचार भएन भने पछि के हुन्छ ? यस्तो समस्या नआओस् भनेर सुरुमै के के कुरामा ध्यान दिने ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि मेरुदण्ड रोग विशेषज्ञ डा .गौरवराज ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :
हाम्रो मेरुदण्डमा कस्ता–कस्ता समस्या देखा पर्दछन् ? मेरुदण्डमा विभिन्न कारणले समस्या आउछन्। एउटा जन्मिदा नै लिएर आउने समस्या पनि हुन्छ।जसलाई हामी कन्जीनाइटर भन्छौँ।त्यसमा कुनै हड्डीको बनावट गर्भदेखि नै बिग्रेर ढाड बाङ्गिने समस्या हुन्छ।कुप्रो हुने हुन्छ।त्यसपछि युवा अवस्थामा पनि त्यही कुराहरू बढेर झन् बढी देखिने हुन्छ।धेरै काम गर्ने २५ देखि ५० उमेरसम्मको मान्छेहरूमा ढाड र कम्मर गर्धन दुख्ने समस्या धेरै भएको छ।वृद्धाहरूमा (ओस्टियोपोरोसिस)को कारणले अर्को मेरुदण्डको क्यान्सर अरू भागबाट क्यान्सर भएर ढाडमा आएपछि ढाड धेरै दुख्ने बाथहरू उत्पन्न हुनेहुन्छ।त्यसैले यो कुनै उमेरमा धेरै हुन्छ र कुनैमा कम हुन्छ।खुर्सीमा बसेर लेखापढीको काम गर्न, सिलाई बुनाईको काम गर्ने, निहुरिएर काम गर्ने र शारीरिक क्षमताले भ्याउनेभन्दा बढी श्रम गर्नेमा यो रोग देखिन्छ ।
कुन उमेरका मानिसमा यो समस्या बढी छ ? स्कुल पढ्दा देखिनै बच्चामा ढाड दुखाइको समस्या हुन्छ।किनकी स्कुलमा उनीहरूको किताब कपी धेरै हुन्छन्।त्यसले गर्दा सुरु सुरुमा उनीहरूमा दुखाई सुरु हुन्छ।विद्यार्थीमा धेरै कुप्रिएर लेख्ने, धेरै मोबाइल फोन चलाउने बानीले गर्दा पोज मिल्दैन, लामो समय कुर्सीमा बसेर काम गर्ने डाइभर, धेरै भारी बोक्नेहरूमा यो समस्या बढी हुन्छ।वयस्कमा देखिने मेरुदण्डसम्बन्धी समस्या मेकानिकल ‘ब्याक पेन’ हो । यसको कारण लामो समयसम्म एकै ठाउँमा गलत तरिकाले बस्नु, निहुरेर भारी सामान उचाल्नु हो।
यो समस्या वंशानुगत रुपमा पनि जाने हो ? वंशाणुगत रूपमा आएको छ भने आउन सक्छ त्यसैले हामीले बिहान उठ्ने व्यायाम गर्ने दौडिने गर्नु पर्दछ।स्वास्थ्य खाना तरकारी र फलफूलहरू खाने।कुनै समस्या आयो भने तुरुन्त अस्पताल गएर जाँच गर्नुपर्दछ नत्र पछि गएर यसले ठुलो समस्या निम्त्याउन सक्छ ।
ढाड दुख्ने समस्या कसरी उत्पन्न हुन्छ ? लामो समयसम्म एउटै पोजमा बस्दा मेरुदण्ड थाकेर जान्छ फलस्वरुप दुखाइ हुन्छ।फिजिकल रुपमा व्यायाम नगर्दा पनि ढाड दुख्ने समस्या बढ्छ ।
मेरुदण्डमा समस्या देखियो तर समयमा उपचार भएन भने कस्तो जोखिम हुन्छ ? मेरुदण्डमा समस्या देखियो वा ढाड दुख्ने, दर्धन दुख्ने, हात झमझमाउने समस्या हुन्छ।यस्तो समस्या हुँदा घरैमा सिटामोल खाएर बस्नु हुँदैन।एक हप्ता हेरौँ न भनेर पनि बस्नु हुँदैन।त्यत्ति बेलासम्म दुखाइले उग्र रूप लिनसक्छ।समस्या पनि बढेर जान सक्छ।त्यसैले ढाड र गर्धनको दुखाई, हातमा कमजोरी र खुट्टामा लुलोपन आयो भने तत्काल जाँच गर्नुपर्छ।
अस्पतालमा यसको उपचार कसरी हुन्छ ? अस्पतालमा बिरामी आएपछि हामीले राम्रोसँग समस्या सोधेर के कारणले हो पत्ता लगाउछौँ।त्यसपछि रगत जाँच, एमआरआई, सिटी, इएमजीहरु सबै जाँचमा जान्छौँ।बिरामी दुई प्रकारका हुन्छन्।एउटा चाहिँ भित्र नै केही गम्भीर समस्या छन् भने त्यही अनुसार हामी सर्जरी वा मेडिसिनहरू दिन्छौँ।मेकानिकल पीठ दुखाइ, प्रसव पछि पीठ दुखाइ छ भने हामीले सातदेखि १० दिनको औषधि दिन्छौँ र व्यायाम गराउँछौँ ।
यस्तो समस्या आउनै नदिन के के कुरामा ध्यान दिने ? यसको लागि हरेकले घरमा स्वस्थ जीवनशैली बनाउनु पर्दछ।आफ्नो बस्ने शैलीमा परिवर्तन गर्नुपर्छ।लामो समयसम्म एउटै पोजमा नबस्ने, दिनभर काम गर्ने र घरमा आएपछि टिभी हेर्ने र सोफामा सुत्ने गर्नु हुँदैन।दैनिक रुपमा बिहान सकेसम्म १ घण्टा व्यायाम गर्ने, जिम जाने वा दौडिने, अफिसमा काम गर्दा लामो समयसम्म एउटै पोजिसनमा नबस्ने एकछिन् उठ्ने र हिँडडुल गर्ने गर्नुपर्छ।वृद्धावस्थामा देखापर्ने मेरुदण्डको समस्याबाट बच्न पनि दैनिक व्यायाम गर्ने, हड्डी बलियो बनाउन क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ।शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्न घाम ताप्ने, हड्डी बलियो बनाउन भिटामिन डी र सी खान सकिन्छ।