देश/प्रदेश

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा

By खबरहब

November 12, 2023

काठमाडौँ– यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लागेकाले एकै दिन मनाइएको हो । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गरिएको हो ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ ।

धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ । विधान अनुसार लक्ष्मीपूजा भने औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ ।