लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोपलगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।
बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीय पालिकासहितको सहकार्यले आगामी दिनमा थप सहज बनाउने बताए ।
उनले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन)हरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचारप्रसार गर्ने नीति लिएको र अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए ।
बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूले समेत आफ्नो क्षेत्रका ऐतिहासिक र पुरातात्विकस्थलमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए ।
बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसारको खाँचो रहेको बताए ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए ।
उनीहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
यसैगरी, बैठकमा गैरआवासी नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली सङ्घ अमेरिका (एनआरएनए)का उपमहासचिव सोमनाथ सापकोटाले लुम्बिनी, बुद्धको प्रचारप्रसार र बुद्धपरिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन् ।
बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीक्षितलगायतले लुम्बिनीसँग सम्बन्धित भ्रमहरू चिर्दै पर्यटकको बसाइ अवधि लम्ब्याउनुपर्ने बताए ।