ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीको ‘सुशासन गफ’ मा पूर्वमुख्यसचिवको व्यंग्य

By खबरहब

December 12, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा सुशासनको पक्षमा राम्रो काम गरेको दाबी गर्दै आएका छन् ।

 दाहालले कार्यभार सम्हालेकै दिन जनताका दैनिक काम चुस्त दुरुस्त बनाइने र जनताले लाइनमा बस्नुपर्ने बताएका थिए । तर, एकजना पूर्वमुख्यसचिवको कुरो सुन्ने हो भने प्रधानमन्त्री दाहालको भनाइ र सरकारको काम गराइमा आकाश-पातालको फरक पाइएको छ । 

पूर्वमुख्यसचिव विमल कोइरालाले गत वर्ष नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका थिए । उनी एक वर्षपछि ‘फलो’ गर्न कार्यालय पुगे ।

सिडियो कार्यालयबाट रित्तो हात फर्किएका पूर्वमुख्यसचिव कोइरालाको प्रतिक्रिया छ,- ‘परिचय पत्र बनाउन २०७९ पुस ५ मा आवेदन गरेकोमा अहिलेसम्म नबनेपछि हिजो जिल्ला प्रशासन कार्यालय गएको थिएँ । त्यहाँबाट पत्ता लाग्यो कि रिक्वेस्ट नट फाउण्ड । यो भनेको के हो भनी सोधपुछ गर्दा फेरि फारम भर्नुपर्छ भन्ने बुझियो ।’

कोइराला सरकारी सेवाप्रति व्यंग्य गर्दै भन्छन्, ‘एक वर्ष त भैसक्यो, अरु एक वर्ष लाग्ने भयो । हिजो बुझ्न नगएको भए तीन वर्ष लाग्ने रहेछ । एक वर्ष जोगाएँ, धन्न प्रभु ! चारपटक जाँदा पाइन्छ कि?’