आर्थिक

सेयर बजार ३६.६८ अंकले बढ्यो

By खबरहब

December 12, 2023

काठमाडौं– मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । 

मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ ।  आज २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।