ट्रयाकको क्यारियरमा थुप्रै विश्व स्तरीय उपाधिसहित विश्व कीर्तिमान समेत राखेकी बहुप्रतिभाशाली गेन्जेबे डिबाबाले अझै थुप्रै सफलता पाउन बाँकी नै छ। छ पटककी विश्व च्याम्पियन तथा १ हजार ५ समय मिटरकी ओलम्पिक रजत पदक विजेता डिबाबाकै नाममा एक हजार ५ सय मिटरको विश्व कीर्तिमानसमेत छ। उनले माइलमा तीन मिनेट ५० दशमलव ०७ सेकेन्ड समयका साथ विश्व कीर्तिमान राखेकी हुन्।
यत्ति मात्र होइन माइलमा इनडोर विश्व कीर्तिमान राख्न सफल उनी गत अक्टोबरमा तीन हजार र पाँच हजार मिटरमा विश्व कीर्तिमान कायम गर्दै संसारलाई आश्चर्यमा पारेकी थिइन्। आर्मस्ड्रममा म्याराथनमा सहभागिता जनाउँदै सबैको ध्यान खिचेकी उनले दुई घण्टा १८ मिनेट तीन सेकेन्ड समयमा रेस पुरा गर्दै उपविजेता भएकी थिइन्। सो रेसमा उनकै देशकी अल्माज आयना पहिलो भएकी हुन्।
हालै मात्र एनएन रनिङ टिममा आबद्ध भएकी उनमा म्याराथन धाविका बन्नेमा प्रशस्त आत्मविश्वास पलाएको छ। उनले त्यस टिममा आबद्ध भएपछि म्याराथन धाविका बन्ने योजना सफल हुनेमा पूर्ण रूपमा विश्वस्त रहेको बताएकी हुन्। विगतमा एनएनको इतिहास हेर्ने हो भने थुप्रै स्टार म्याराथन धावक जन्माइसकेकाले यस पटक पनि सो टिममा आफू रहँदा आफ्नो प्रगति हुनेमा विश्वस्त रहेकोमा उनले जोड दिएकी छिन्।
उनको परिवार नै संसारमा तहल्का मच्चाउने परिवार हो। उनकी दिदी तिरुनेस तीन पटकको ओलम्पिक च्याम्पियन हुन्। एथलेटिक्समा सफल उनी आफू यु–२० मा क्रसकन्ट्रीको च्याम्पियन हुन्। सिनीयर तहमा उनले ट्रायकमा नै धेरै सनसनी मच्चाएकी थिइन्। पछिल्लो समय मात्र उनले आफूलाई तिरुनेसको बाटोमा हिँडाउने अठोट गरेकी हुन्। तीरुनेसले दुई घण्टा १७ मिनेट ५६ सेकेन्ड समयमा रेस पुरा गरेकी हुन्। उनले म्याराथन धाविकाको रूपमा आफूलाई रूपान्तरण गर्ने योजना धेरै अघिदेखि भए पनि उपयुक्त समयको पखाईमा रहेको बताएकी छिन्। यो वर्ष उनका लागि सबै कुरा सही ढङ्गले भने चलेनन्। जोर्नीमा लागेको चोटका कारण उनी ६ महिना दौडन सकेकी थिइनन्। यसले उनको आत्मविश्वासलाई समेत प्रभावमा पारेको थियो।
छोटो दुरीको ट्रयाकको रेसबाट म्याराथन धावक हुन आवश्यक पर्ने नयाँ प्रशिक्षण शैलीमा आफूलाई ढाल्न पनि त्यसै चोटले उनलाई अप्ठेरो पारेको थियो। उनी आफैले पनि चोटले छोटो दुरी भन्दा लामो दुरीको रेसमा लागि समस्या पर्ने थियो।
राजधानी अदिस अवाबामा दिदी तिरुनेससँगै साताको सात दिन नै प्रशिक्षण गरेपछि उनको डच राजधानीमा दौडने आधार तयार भएको थियो। त्यहाँको समयबाट नै उनले आफू म्याराथन धाविका हुन तयार भएको प्रस्ट भएको थियो। उनले आर्मस्ड्रममा दौडनु जीवनको ठूलो लक्ष्य रहेको बताउँदै यो पुरा भएकोमा खुसी व्यक्त गरेकी छिन्। त्यस अगाडि उनले ४० किलोमिटरको दौड मात्र कुदेकी थिइन्। अथवा तीन या चार घण्टा लगाएर प्रशिक्षणको समयमा ३५ किलोमिटर मात्र कुँदेकी थिइन्। उनले यो समयबाट भविष्यमा थुप्रै म्याराथन कुद्न आफू सक्षम हुने आत्मविश्वास पलाएको बताएकी हुन्। उनले आफूमा बढेको आत्मविश्वासकै कारण भविष्यमा यस समयमा धेरै सुधार हुने कुरामा समेत ढुक्क रहेको बताएकी छिन्।
दिदीसँगको प्रशिक्षणमा उनलाई विगतमा तीनै दिदीले अनुभव गरेका गौरवपूर्ण क्षणको पनि याद आउने गरेको छ। सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा तिरुनेसले पाँच हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।
२०२३ मै हुने अर्को म्याराथनमा गेन्जेबे आफ्नो समयमा सुधार हुनेमा पूर्ण रूपमा विश्वस्त छिन्। पेरिस ओलम्पिकको म्याराथन स्पर्धा उनको मुख्य लक्ष्य नै बनेको छ। एलुयड किपचोगेलाई हेरेर पनि उनी आफू सफल हुने कुरामा विश्वस्त भएकी हुन्।
एलुयड पनि म्याराथन धावक हुनु अघि ट्याकमा थुप्रै महत्त्वपूर्ण सफलता पाएका थिए। एलुयडले अहिले म्याराथनमा पाएको सफलताबाट उत्प्रेरित उनी आवश्यक समयमा उनीसँग सम्पर्क गरेर नै प्रशिक्षण गर्ने सोचमा छिन्।
सन् १९९१ मा इथियोपिया जन्मिएकी गेन्जेबे सन् २०१२ मा एक हजार पाँच सय मिटरमा विश्व इनडोर च्याम्पियन भएकी हुन्। दुई वर्षको अन्तरालमा उनले तीन वटा इनडोर विश्व कीर्तिमान कायम गरिन्।
सन् २०१६ मा उनले पोर्टल्यान्डमा भएको विश्व इनडोर च्याम्पियनसिपमा तीन हजार मिटरको उपाधि रक्षा गरिन्। माइलमा विश्व कीर्तिमान कायम गरेकी उनले एक हजार पाँच सय मिटर दौडमा ओलम्पिक रजत पदक जितेकी थिइन्।
सन् २०१७ मा दुई हजार मिटरमा इनडोरविश्व कीर्तिमान कायम गरेकी उनले बर्मिङघमको इनडोर विश्व च्याम्पियनसिपमा एक हजार पाँच सय र तीन हजार मिटर दौडमा विश्व कीर्तिमान कायम गरेकी हुन्।
सन् २०२० मा उनले हाफ म्याराथनमा पहिलो सफलता पाएकी थिइन्। भ्यालेन्सीया हाफ म्याराथनमा उनले एक घण्टा पाँच मिनेट १८ सेकेन्डमा दुरी तय गर्दै उपाधि जितेकी हुन्। त्यसको लगभग तीन वर्ष मात्र उनले म्याराथनमा सहभागिता जनाएकी हुन्।
आर्मस्ड्रममा म्याराथन सफलता पाउने आयना पनि डिबाबा जस्तै कुनै समय ट्रयाकमा सफलता पाएकी धाविका हुन्। आयनाले सन् २०१६ को रियो ओलम्पिकमा १० हजार मिटर दौडमा इथोपियालाई स्वर्ण पदक दिलाएकी थिइन्। अहिले ३० वर्ष भएकी आयनाले रियो ओलम्पिकमा सो स्वर्ण पदक जित्ने क्रममा पुरानो कीर्तिमानलाई १४ दशमलव ३३ सेकेन्डले पछि छाडेकी थिइन्। त्यो विश्व कीर्तिमानलाई अहिले इथियोपियाकै सेटेससेनेबेट गीडेले १६ दशमलव ४२ सेकेन्डलेपछि छाडेकी छिन्।
बच्चालाई जनम दिएकी कारण तीन वर्ष रेस बाट टाढा रहेकी उनी तीन वर्षपछि एकै पटक हाफ म्याराथनमा सहभागिता जनाएकी हुन्। उनले पहिलो हाफ म्याराथन सहभागितामा केन्याकी हेलेन ओबीरी भन्दा पछि रहँदै रजत पदक जितेकी हुन्। संयोग मान्नु पर्छ कि ओबीरी पनि पाँच हजार मिटर दौडकी ओलम्पिक रजत विजेता हुन्। ओबरीले पनि लामो दुरीमा सहभागिता जनाउन थालेको धेरै भएको छैन।
उनले २०२१ को ६ नोभेम्बरमा न्यु योर्क म्याराथनमा पहिलो पटक सहभागिता जनाएकी थिइन्। सन् २०१५ मा एक हजार ५ सय मिटरमा विश्व कीर्तिमान कायम गर्ने इजेघेयु पनि अहिले लामो दुरीको रेसमा सक्रिय छन्।
उमेर बढ्दै जाँदा इन्डुरेन्सका कारण धेरै जना लामो दुरीको रेसमा लाग्नु स्वाभाविक नै हो। अहिले एथलेटिक्समा यो एउटा लहर नै चलेको छ। त्यस लहरमा संसारको मानचित्रमा चर्चा न नआउने तेस्रो विश्वका सामान्य धावक पनि रहेका छन्। गेन्जेबे डिबाबाकै हकमा भन्ने हो भने पहिलो रेसमा उनले पाएको सफलता कारण धेरै आशा गर्ने स्थान भने देखिएको छ। तस्बिर : एनएन रनिंग, ओलम्पिक एनबीसी स्पोर्ट्स