राजनीति

रास्वपा तत्कालै सरकारमा जाँदैन : सभापति लामिछाने

By खबरहब

March 13, 2023

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको छ भने। उनले भने,’सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। उनले थपे , ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ‘  

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए। आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।