ब्रेकिङ स्टोरी

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

By खबरहब

March 13, 2023

आज दिनभर राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण, पीएनजीविरुद्ध नेपालको जीत, सरकारले मलमा अनुदान घटाउने, बचतकर्ताको रकम ठग्ने सहकारीका सञ्चालक पक्राउ, नेप्से ओरालाेलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपति डा रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सहभागी थिए ।

यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी रहेका थिए ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिएका थिए । राष्ट्रपति पौडेलको सम्मानमा राष्ट्रपतिको कार्यालयले दिवाभोजको आयोजना गरेको छ ।

सोही समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो ।

नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।

पीएनजीविरुद्ध नेपालको सानदार जीत

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्टाएको हो ।

नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहेका थिए । कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए ।ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।

सरकारले रासायनिक मल खरिदमा अनुदान घटाउने

सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आज बसेको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।

“रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ । यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ ।” कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सरकारले मलको अनुदान घटाएसँगै कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ । अनुदान कटौतीपछि आयात विन्दुमा युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी प्रतिकिलो ५० रुपैयाँ र पोटास प्रतिकिलो ४० रुपैयाँ मा बिक्री वितरण हुनेछ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डिएपी प्रतिकिलो ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँमा बिक्री वितरण भइरहेको थियो ।

साबिकभन्दा अब युरिया प्रतिकिलो ११ रुपैयाँ, डिएपी प्रतिकिलो सात रुपैयाँ र पोटास प्रतिकिलो नौ रुपैयाँ महँगो पर्ने भएको छ । सरकारले यसअघि युरियामा ८० प्रतिशत, डिएपीमा ६० प्रतिशत र पोटासमा ५९ प्रतिशत अनुदान दिइरहेको थियो । तर अब युरियामा ६४ दशमलव ४९, डीएपीमा ५२ दशमलव ३८ र पोटासमा ४६ दशमलव ०९ प्रतिशत मात्रै अनुदान दिइनेछ ।

अर्थ मन्त्रालयले रासायनिक मलको अनुदान घटाउन भनेपछि यस्तो निर्णय गरिएको पनि कृषि मन्त्रालयले जनाएको छ । “रासायनिक मलको बढ्दो माग, बढ्दो अन्तर्राष्ट्रिय मूल्य र तद्अनुरुप रासायनिक मलमा बढ्दो अनुदान रकमलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयको पत्रअनुसार स्रोत सुनिश्चितता गर्दाको शर्तको रुपमा रासायनिक मलमा दिँइदै आएको अनुदानलाई लागतको ५० प्रतिशतमा सीमित राख्ने राय आएको छ ।”, कृषि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार नेपालका लागि वार्षिक पाँच लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । मलमा कृषकलाई अनुदान उपलब्ध गराउन चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा १५ अर्ब ६ लाख रुपैयाँ छुट्याइएको थियो ।

गत साउन २७ गते अर्थ मन्त्रालयबाट १६ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता दिइएको थियो भने यही फागुन ८ गते सात अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो । यसरी चालु आर्थिक वर्षका लागि रासायनिक मल शीर्षकमा कुल ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ बजेट कायम भएको छ ।

हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्र टेडिङ कर्पोरेसनबाट कूल तीन लाख ३१ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद भइसकेको मन्त्रालयले जनाएको छ । यसरी खरिद भएको मलमध्ये करिब दुई लाख ३७ हजार पाँच सय मेट्रिक टन मल आयात भइसकेको छ भने ९४ हजार मेट्रिक टन आयातका क्रममा रहेको छ । यसवर्ष धानबालीका लागि यसवर्ष ९० हजार मेट्रिक टन मल अपुग हुने पनि मन्त्रालयले जनाएको छ ।

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गरेका हुन् ।

आइतबार अध्यक्ष ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।

प्रमिला कुमारी यादवद्वारा उपराष्ट्रपतिबाट उम्मेदवारी फिर्ता

उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी जसपाकी प्रमिला कुमारी यादवले पार्टीका नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् ।

उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै अब आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् ।

तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । प्रमिला कुमारीले फागुन २७ गते उक्त पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् ।

बचतकर्ताको रकम ठगी गर्ने सहकारीका सञ्चालक पक्राउ

बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको १२ करोड नौ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जानकारी दिएको छ ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी गत फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब एक अर्ब ५० करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई ठगी गरेको पाइएको छ ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्यक्षेत्र नेपालभर रहेको छ । प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको सङ्ख्या बढेको छ ।

सेयर बजार २४.६८ अंकले ओरालो

कारोबार हुने साताको दोश्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ ।

सोमबार सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

सुनको मुल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख तीन हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० वृद्धि भई एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।