तस्वीर- नेशनल इन्ट्रेस्ट

अन्तर्राष्ट्रिय

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए : राष्ट्रसंघ

By खबरहब

March 13, 2023

काठमाडौँ- तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले अफगानिस्तानका ६५ प्रतिशत जनसङ्ख्यालाई तत्काल मानवीय सहायता आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

यसबाहेक मुलुकका दशौँ लाख मानिसहरु प्रलयकारी भोकमरीको जोखिममा रहेको समेत उनको भनाइ छ ।

अफगानिस्तानमा अत्यावश्यक खानेकुराको मूल्य ३० प्रतिशतले बढेको बताउँदै उनले तीन चौथाई आम अफगान नागरिकको सम्पूर्ण खर्च खानेकुरामा मात्र खर्च भइरहेको समेत उल्लेख गरेका छन् ।

अफगानिस्तानले गम्भीर मानवीय संकट व्यहोरिरहेको भन्दै राष्ट्रसंघले बारम्बार धनी मुलुकहरुलाई सहयोग गर्न आह्वान समेत गर्दै आएको छ ।