अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

March 13, 2023

आज फागुन २९ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १३, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्-

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका बेला उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । पनडुब्बीमार्फत् परीक्षण गरिएका ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा पाँच वर्ष यताकै सबैभन्दा ठूलो अभ्यास रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेर्ने गरेको छ ।

फिलिपिन्समा ट्याङ्करबाट तेल चुहिँदा एक लाख जना प्रभावित

फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् । घटनामा १२२ जना बिरामी परेका छन् ।

प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्यङ्कर ८ लाख लिटर क्षमताको भएको र त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन् ।

डोलोरले स्थानीय रेडियोलाई बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ बासिन्दाहरूमा त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वाससम्बन्धी समस्या र बान्ता र पखाला भोगेका छन् ।

‘पोला शहर धेरै क्षतिग्रस्त भएको र यसका सबै तटीय गाउँहरू तेलले ढाकेको छ,’ डोलोरले भने । शहरल भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन् ।

पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्नेहरूलाई माछा मार्न रोक्न आग्रह गरेका थिए । फिलिपिन्सको युनिभर्सिटीको मरिन साइन्स इन्स्टिच्युटले यसबाट तटीय माछा, कोरल, क्रस्टेशियन, मोलस्क, समुद्री घाँस र म्यान्ग्रोभको उच्चता भएको र देशका अन्य क्षेत्रहरूमा पुग्ने खतरा रहेको पनि औल्याएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् । उक्त तेल ट्याङ्कर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो ।

अमेरिकामा डुंगा दुर्घटना

अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।

स्यान डियागोको ब्लाकबीचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् । दुई वटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।

खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरू भेटिएको थियो । घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् । पूर्ण रुपमा आतंकवाद निवारण नभएसम्म भारत चुप लागेर नबस्ने उनको भनाइ छ ।

उनले आतंकवादी गतिविधि निवारणका लागि पछिल्ला केही वर्षयता भारतले राष्ट्रसंघीय प्रतिआतंकवाद कार्यालयलाई २० लाख अमेरिकी डलर योगदान गरेको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिने समेत बताइन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्वव्यापी प्रतिआतंकवाद रणनीतिमा सबै मुलुकको सहभागिता रहनुपर्नेमा पनि जोड दिइन् ।

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई आतङ्ककारीको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रतिआतङ्कवाद कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा दुई जना आतङ्ककारी पक्राउ परेका छन् ।

सिन्ध प्रान्तको प्रतआतंकवाद विभाग सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपासनजिकै कारवाही गरेको थियो । दुवै मृतकको पहिचान भइसकेको छ ।

उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ । यसैगरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको प्रमुख योजनाकार रहेको बुझिएको छ ।

उक्त आक्रमणमा घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए ।

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले अफगानिस्तानका ६५ प्रतिशत जनसङ्ख्यालाई तत्काल मानवीय सहायता आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

यसबाहेक मुलुकका दशौँ लाख मानिसहरु प्रलयकारी भोकमरीको जोखिममा रहेको समेत उनको भनाइ छ ।

अफगानिस्तानमा अत्यावश्यक खानेकुराको मूल्य ३० प्रतिशतले बढेको बताउँदै उनले तीन चौथाई आम अफगान नागरिकको सम्पूर्ण खर्च खानेकुरामा मात्र खर्च भइरहेको समेत उल्लेख गरेका छन् ।

अफगानिस्तानले गम्भीर मानवीय संकट व्यहोरिरहेको भन्दै राष्ट्रसंघले बारम्बार धनी मुलुकहरुलाई सहयोग गर्न आह्वान समेत गर्दै आएको छ ।

सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य

भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ ।

भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए ।

यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र कोरोना भाइरसको महामारीका कारण उक्त लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

भुटानको स्वास्थ्य मन्त्रालयले औलो निवारणको अर्थ उक्त रोगलाई पूर्ण रुपमा निर्मूल पार्नु भने नरहेको स्पष्ट पारेको छ । सामुदायिक स्तरमा औलो निवारण भएपनि आयातित रुपमा यस रोग फैलिनसक्ने मन्त्रालयको भनाइ छ ।

औलो रोगबारे अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, सर्वेक्षणलगायतका कार्यलाई तीव्र पारिने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यसका लागि जनचेतनामूलक कार्यक्रम र रोकथामका उपायजस्ता कदम पनि चालिने भुटान लाइभले उल्लेख गरेको छ । औलो रोग निवारण गर्न हरेक व्यक्तिले आफ्नो दायित्व समेत पूरा गर्नुपर्ने भुटानकी स्वास्थ्यमन्त्री ल्योन्पो डाशो डेचेन वाङ्मोले बताएकी छिन् ।

पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियान सुरु

पाकिस्तानमा पोलियोका बिरामीहरु देखिएपछि खोप अभियान सुरु गरिएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि सरकारले सोमबारदेखि पोलियो खोप अभियान सुरु गरेको हो ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।

सिन्धको प्रान्तीय सरकारले सोमबारदेखि यो अभियान सुरु गरेको र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई खोप दिइने बताइएको छ ।

त्यसपछि अर्को अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।

सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुबै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने अधिकारीहरुले जनाएका हुन् ।

यसअघि पनि सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ ।