समाचार

डिभिजन वन कार्यालयमा कर्मचारी अभावले सेवाग्राही मारमा

By खबरहब

April 13, 2023

बाजुरा– डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदै आएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरबन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन गर्दै आएका डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । 

सबडिभिजन वन कार्यालयमा छ अधिकृतको दरबन्दी भए पनि दुई जनाको भरमा छ । दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक प्रशासनिक काम प्रभावित हुने गरेको अयडीको भनाइ छ । उनले भने, ‘छ इलाका वन कार्यालयका लागि २८ वन रक्षकको दरबन्दी छ । तर १८ वनरक्षकले इलाका वनको प्रशासन चलाउँदै आएका छन् ।’

अधिकृतस्तरको दरबन्दी आठ जनाको भए पनि दुई जना मात्र कार्यरत छन् । इलाकामा भने अधिकृत तहका कर्मचारी नै छैनन् । वनरक्षकले काम गर्दै आएका  छन् । ‘दुई जनाले काम भ्याउनुपर्ने बाध्यता छ’, अयडीले भने।

भौगोलिक विकटताका कारण वनका लागेको डढेलो नियन्त्रण र चिसो मौसममा वन्यजन्तु चोरी सिकारीका घटना न्यूनीकरण गर्न जनशक्ति अभावका कारण सकस हुने गरेको वन अधिकृत भोजराज पाठकले बताए । जनशक्ति अभावले कामको चाप बढेको छ । वनमा हुने आगलागी र वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको पाठकको भनाइ छ ।