देश/प्रदेश

गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थाले

By खबरहब

April 13, 2023

बाजुरा– गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । 

लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका  सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । 

रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए । गर्मीयाममा घर आँगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए ।

उनका अनुसार गर्मीमा कालाजार, डेङ्गुलगायत रोगको जोखिम बढी हुने गरेको छ । योसँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ । यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो ।