अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

April 13, 2023

आज चैत ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

‘भारत विकासशील देशहरूको पक्षमा छ’

भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।

भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले भारत अल्पविकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे । विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्वमञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहोर्‍याए ।

सो अवसरमा इटालीका लागि भारतका राजदूत नीना मल्होत्राका साथै इटालीका विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री एडमन्डो सिरिएलीलगायत उपस्थित थिए ।

मन्त्री गोयल हाल फ्रान्स र इटालीको औपचारिक भ्रमणमा छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा साथ भारतका प्रमुख व्यापारिक प्रतिष्ठानका शीर्ष प्रमुख कार्यकारी अधिकृतहरू छन् । बुधबार पेरिसमा भएको भारत–फ्रान्स व्यापार शिखर सम्मेलन तथा प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकमा उनले भारत अवसरको खानी भएको बताउँदै त्यहाँ लगानी गरेर लाभान्वित हुन आमन्त्रण गरेका थिए ।

मन्त्री गोयलको यो भ्रमणबाट युरोपमा रहेका भारतका प्रमुख व्यापारिक साझेदारसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दुवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् ।

सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका चरमपन्थी सङ्गठनहरूलाई समर्थन गरेको र इरानसँग धेरै नजिक भएको आरोप लगाउँदै ती देशले कतारमाथि नाकाबन्दी लगाएका थिए । चारै देशले कतारी विमान र जहाजलाई आफ्नो हवाई र जलक्षेत्र प्रयोगमा पनि प्रतिबन्ध लगाएका थिए ।

साउदीमा रहेको खाडी सहयोग परिषद्को मुख्यालयमा भएको वार्तामा मेलमिलापसम्बन्धी सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । कतारी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तअनुसार दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने निर्णय भएको जनाएको हो ।

द्विपक्षीय सम्बन्ध विकासका साथै खाडी राष्ट्रबीचको एकता र एकीकरण बढाउने आपसी चाहनाअनुसार दुवै देशबीच उक्त सहमति भएको कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बहराइनको विदेश मन्त्रालयले पनि त्यस्तै आशयको वक्तव्य जारी गरेको छ ।

एक अर्काका कट्टर प्रतिद्वन्द्वी साउदी र इरानले सम्बन्ध तोडेको सात वर्षपछि गत महिना औपचारिक रूपमा सम्बन्ध पुनः सुरु गर्न सहमति जनाएपछि कतार र बहराइनबीच पनि मेलमिलाप भएको हो ।

जनवरी २०२१ मा भएको एक मेलमिलाप सम्झौताअनुसार बहराइन बाहेक तीनवटै देशले कतारसँग सम्बन्ध नवीकरण गरिसकेका छन् । यद्यपि संयुक्त अरब इमिरेट्स र कतारले एक अर्काका राजधानीमा आफ्ना राजदूतावास खोलेका छैनन् ।

म्यान्मा सैनिक हवाई हमलामा १३३ जना मारिए

म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ ।

आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।

दुई वर्षअघि सैन्य शाक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो । अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिउको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन ।

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन् ।

सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ । निर्मम आक्रमणका लागि परिचित म्यान्माली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले कानबालुमा भएको हवाई हमलाको निन्दा गरेको छ । आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियलाले आज एक विज्ञप्ति निकालेर उक्त आक्रमणको निन्दा गरेको हो । आसियानले नागरिकहरूमाथि बल प्रयोग गर्नेलगायत सबै प्रकार हिंसा तत्काल हुनुपर्नेमा जोड दिएको छ ।

पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ । पाकिस्तान तत्काल वित्तीय समस्याबाट पार हुने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले पाकिस्तानलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक मानिने साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरेपनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने अर्थशास्त्री मियाको टिप्पणी छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् ।

ब्राजिल फर्केको छ : ब्राजिलका राष्ट्रपति लुला

युक्रेनका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्राजिल फर्केको’ बताएका छन् ।

बुधबार राति साङ्घाई आइपुगेका अनुभवी वामपन्थी नेता लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको नेतृत्वमा चार वर्षको सापेक्षिक अलगावपछि ब्राजिललाई एक प्रमुख वैश्विक खेलाडीको रूपमा पुनः स्थापित गर्न खोजिरहेका छन् ।

ब्रिक्स नयाँ विकास बैंक (एनडीबी) को अध्यक्षका रूपमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफको उद्घाटन समारोहमा लुलाले भने, ‘ब्राजिल विश्वका ठूला निर्णयहरूमा अब धेरै समय अनुपस्थित रहनुपर्ने छैन ।

‘हामी एक अकल्पनीय अनुपस्थितिपछि अन्तर्राष्ट्रिय मञ्चमा फर्केका छौँ,’ उनले भने ।

लुलाले बिहीबार साङ्घाईमा बिताएर आफ्ना समकक्षी सी जिनपिङलाई भेट्न चीनको राजधानी जाने छन् । चीन र ब्राजिल दुवैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अति घनिष्ठ रहेको पश्चिमा चिन्ताका बावजुद द्वन्द्वमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् ।

लुलाको भ्रमणको साङ्घाई चरणले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमणको अर्को प्रमुख लक्ष्यलाई उजागर गरेको छ ।

चीन ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार हो, जसले अर्बौँ डलरको भटमास, गाइको मासु र फलामको कच्चा पदार्थ (आइरान ओर) खरिद गर्दछ ।

ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाले संयुक्त रूपमा स्थापना गरेको बहुपक्षीय ऋणदाता एनडीबीको नेतृत्व ब्राजिलका रूसेफले सन् २०२५ सम्म गर्ने छन् ।