देश/प्रदेश

अवैध रासायनिक मल बरामद

By खबरहब

June 13, 2023

पाल्पा– पाल्पाको रामपुरस्थित एक सटरमा भण्डारण गरी राखिएको अवैध मल बरामद गरिएको छ । बरामद गरिएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । भारतीय कम्पनीको ६ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको हो । 

रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो  ।

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल सिल’ गरेर राखेको हो ।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।