आर्थिक

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

By खबरहब

June 13, 2023

भैरहवा– भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आजबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको हो । 

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे । 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबस क्वालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो ।

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौँको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन । 

४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौँ जानेछ ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा दर ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ तोकेको छ ।

विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन । जजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएका छन् ।