देश/प्रदेश

खेर गएन मेयर हर्क साम्पाङको परिश्रम, धरानमा आइछाड्यो कोकाहाको पानी

By खबरहब

June 13, 2023

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी ल्याउन सञ्चालन गरेको श्रम अभियान सफल भएको छ । मेयरले तीन महिनाअघि कोकाहाबाट धरानमा पानी ल्याउने अभियान सञ्चालन गरेका थिए ।

धरानबाट ४० किलोमिटर टाढा रहेको कोकाहाबाट जंगल, भीरपाखामा पाइप विछ्याउँदै पानी ल्याउन श्रमदातासँगै मेयर साम्पाङको श्रम अभियानमा खट्दै आएका थिए ।

यसअघि पछिल्ला तीन दिनयता उनी कोकाहाको पानी नल्याएसम्म धरान नआउने दृढताका साथ श्रम अभियानमा खट्दै आएका थिए । त्यसयता उनले रात दिन श्रमदानस्थलमै बिताउँदै आएका थिए ।

सोमबार मध्यरात १२ बजे कोकाहाको पानी पकुवा खोला किनारमा आइपुगेको हो । यससँगै त्यहाँ उपस्थित श्रमदाताहरु उत्साहित भएका थिए । पकुवा किनारमा कोकाहाको पानी आएसँगै श्रमदाताहरुले पानी छ्यापाछ्याप र नुहाईधुवाई गरेका थिए । त्यहाँ उत्सवको माहोल बनेको थियो ।

कोकाहाको पानी आएको केही समयपछि मेयर साम्पाङ पनि पकुवामा आए । उनी निकै भावुक देखिन्थे । उनले कोकाहाको पानी धरान ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । मेयर साम्पाङको श्रम अभियानबाट कोकाहाको पानी आएसँगै अब धरानमा पानीको अभाव नहुने अपेक्षा गरिएको छ ।