प्रवास

रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने 

By खबरहब

July 13, 2023

दोहा : साउदी अरबको रियादस्थित नेपाली दूतावासबाट प्रदान हुने सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

दूतावासले बुधबार साँझ एक सूचना जारी गर्दै दूतावासले प्रदान गर्ने सेवालाई समसामयिक, सरल, छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यले साउदी अरबमा रहेका नेपालीका लागि राहदानी नवीकरण, श्रम सम्बन्धी कुनै समस्या वा गुनासोको सम्बोधन लगायतका सेवा अब अनलाइन प्रणालीमार्फत लिन सकिने जनाइएको हो ।

यस्तै, श्रम स्वीकृतिको नवीकरण, सामाजिक सुरक्षा कोषमा आवद्धता, दूतावासबाट प्रक्रिया गरिएका बहिर्गमन भिसा (एक्जिट भिसा) को बारेमा अद्यावधिक जानकारी, गैरकानूनी हैसियतमा रहेकाहरूको विवरण संकलन, लगायतका अन्य सेवाहरू लिन सजिलो होस भन्ने हेतुले अनलाइन प्रणाली प्रयोगमा ल्याएको जनाएको छ ।

आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा दूतावासको सम्पर्क नम्बर ०११–४६१११०८ मा बिहान ९ देखि बेलुका ५ बजेसम्म र ०११–२८८३७९५ मा दिउसो ३ बजे देखि बेलुका ५ बजेसम्म दूतावास खुला रहेको दिन सम्पर्क गर्न सकिनेछ ।

साउदीमा नेपाली कामदार बढेसँगै दूतावासमा सेवा लिन आउनेहरुलाई मध्यनजर गर्दै सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सक्ने व्यवस्था मिलाइएको दूतावासको भनाइ छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।