फाइल तस्वीर

ब्रेकिङ स्टोरी

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री 

By खबरहब

July 13, 2023

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताएका छन् ।

राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथिको छलफलमा परराष्‍ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन् ।

मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् ।

राजदूतहरूको नियुक्तिमा कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट र बाँकी बाहिरबाट नियुक्त गर्ने नेपाल सरकारको नीति रहेको उनको भनाइ छ । 

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।

मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए ।

उनले केरुङ-काठमाडौ रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए।