देश/प्रदेश

पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

By खबरहब

August 13, 2023

गोरखा– केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिइन् ।

पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्‍याएकाे उनको भनाइ छ ।

उनले पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको बताइन् । ‘पहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्‍याएकाे छ‘, अध्यक्ष लामाले भनिन्, ‘घर तथा खेतबालीमा समेत क्षति पुर्‍याएकाले पीडित समस्यामा परेका छन् ।’

पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताइन ।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ ।