देश/प्रदेश

धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा

By खबरहब

August 13, 2023

काठमाडौँ– ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा बढीलाई पक्राउ गरेको छ।

तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको महासङ्घका महासचिव दाहालले जानकारी दिए । उनले भने, ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गरेको छ ।’

आफूहरूले गरेको कामको समयमा भुक्तानी दिन माग गर्दै निर्माण व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । महासङ्घले समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।