फाइल तस्वीर

देश/प्रदेश

पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट खण्ड अवरुद्ध

By खबरहब

August 13, 2023

उदयपुर- अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उनले भने । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ ।

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिबासतर्फ पठाउन थालिएको छ । यस्तै, पश्चिमबाट पूर्वतर्फ आएका सवारी साधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।