साङ्केतिक तस्वीर

देश/प्रदेश

धनुषाको शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

By खबरहब

August 13, 2023

काठमाडौँ- धनुषाको शहीदनगर नगरपालिकाका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगरपालिकाका इन्जिनियरसहित दुई जना कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियार बर्दिबास कार्यालय प्रमुख कुरुवाङ्गको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले सम्बन्धित कागजातसहित आफ्नो साथमा लगेको बताइएको छ ।