देश/प्रदेश

बलात्कार आरोपमा दुई जना पक्राउ

By खबरहब

September 13, 2023

काठमाडौँ– बाँके र बर्दियाबाट बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका–६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।