देश/प्रदेश

खोटाङमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

By खबरहब

November 13, 2023

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत चुहावट भएर  आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छानो भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार बिचल्लीमा परेको छ ।

धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।

धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन् ।