समाचार

शेखर–गगन समूहको बैठकमा महासमिति बैठक सार्न नहुने अडान

By खबरहब

December 13, 2023

काठमाडौं-  नेपाली कांग्रेसको संस्थापनइतर शेखर–गगन समूहको जारी बैठकमा नेताहरुले महासमिति बैठक सार्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंको बत्तिसपुतलीमा बसिरहेको बैठकले महासमिति बैठक सार्न नहुने अडान लिएको हो । बैठकमा उपस्थित एक नेताका अनुसार अधिकांश सदस्यले महासमिति बैठक नसार्नका लागि सभापति शेरबहादुर देउवालाई भन्नका लागि आग्रह गरेका छन् ।

ती नेताले खबरहबलाई भने, ‘गगनजी र शेखरजी पनि बैठक सार्न नहुने पक्षमा हुनुहुन्छ ।’ महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय भएको छ ।

तर, जाडो बढेको भन्दै सभापति शेरबहादुर देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका केही नेताहरू बाहेक अन्य नेताहरूले यो पटक बैठक नसार्न अडान लिइरहेका छन् । देउवाले आफू मातहतमा रहेका नेताहरूलाई बैठक सार्नका लागि दबाब दिन सर्कुलर जारी गरेको नेताहरूको भनाइ छ ।

हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर, विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको थियो ।