समाचार

कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड

By खबरहब

February 14, 2023

काठमाडौँ – कृषिको व्यावसायिक विकास र प्रवद्धन गर्न बुटवलमा आजदेखि कृषि मेला सुरु भएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना गरिएको उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । सो अवसरमा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि भइरहेको कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुपर्ने बताए ।

मुलुकको अर्थव्यवस्था सुधारका लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनुपर्ने उल्लेख गर्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ र बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्ने भन्ने विषयमा ध्यान दिनुपर्ने भनाइ राखे ।

बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुन ६ गतेसम्म चल्ने छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ नाराका साथ कृषि मेला आयोजना गरिएको हो ।