देश/प्रदेश

बैतडीमा सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माणले गति लिँदै

By खबरहब

March 14, 2023

काठमाडौँ- सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेको छ । सुरु गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो ।

सुरुमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

हाल कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले बताए । यो सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ ।

उनले भने, “आगामी जेठभित्र छ किलोमिटर कालोपत्र गरिसक्ने लक्ष्यसहित ठेक्का पाएको चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रको काम गरिरहेको छ ।”

आगामी जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने गरी श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सतबाँझदेखि छ किलोमिटर सडक स्तरोन्नति गर्न १२ करोडमा ठेक्का सम्झौता भएको थियो भने श्रीभावरदेखि हाट खण्डमा आठ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो । अहिले दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य सुरु भएको जनाइएको छ ।

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीयवासी पनि खुसी भएका छन् । जिल्ला सदरमुकामका साथै भारतीय सिमानाका झुलाघाट जोड्ने छोटो बाटोका रुपमा रहेको यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिकाका साथै र बझाङका नागरिकलाई समेत सहज हुनेछ ।

सडक निर्माणले गति लिएपछि खुसी लागेको सुर्नयाका सुरेश महराले बताए । उनले भने, “यसअघि कच्ची सडकका कारण हिउँदमा धुलाम्मे हुने, बर्सातमा हिलाम्मे भएर जोखिपूर्ण यात्रा गर्नुपरेको थियो । अब कालोपत्र भएपछि सहज हुने र सदरमुकाम पनि छिटो पुगिनेछ ।”

दुई दशकपछि सडक निर्माणले गति लिएको भए पनि समयमै कालोपत्र सम्पन्न हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । प्रदेशको गौरवको योजनाअन्तर्गत यो सडकको स्तरोन्नति पश्चात् नागरिकको जीवनस्तर सुधार हुनाका साथै ग्रामीण अर्थतन्त्रमा सुधार आउने पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमको भनाइ छ ।