नेपालमा समय समयमा विभिन्न काण्डले चर्चा पाउने गरेका छन्। अहिले शरणार्थी प्रकरणले चर्चा पाएको छ। यस अगाडिका ठूला काण्ड फासफुस, झासझुस बनाइएता पनि पछिल्लो समय यो काण्ड चर्किने संकेत देखिएको छ। तर, शीर्ष नेताको दौडधुपले यो काण्डसमेत फासफुस हुने त होइन भन्ने आशंका आम मानिसमा बढ्दो छ। नक्कली भुटानी शरणार्थी काण्डमा केही उच्च पदस्थ कर्मचारी र प्रभावशाली नेताहरू पक्राउ परेपछि अब यो काण्डले कस्तो रूप लिन्छ ? आखिर त्यो काण्डको चुरो कुरो के हो ? यस विषयमा आधारित भएर नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारीसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री र पूर्व गृह सचिवलाई प्रहरीले सम्मानजनक व्यवहार देखायो कि देखाएन ? नेपाल प्रहरीको वैधानिक रूपले स्थापना भएको करिब करिब ६ दशक भन्दा लामो इतिहास छ। नेपाल प्रहरीले अगाडि बढाएको नक्कली शरणार्थीको मुद्दालाई मैले नजिकबाट हेरेको छु। प्रहरी एक हिसाबले यो मुद्दामा सफल हुँदै गएको जस्तो भान हुन्छ। तर यो सुरुवात मात्र हो। नेपाल प्रहरीको इतिहासमा प्रहरीले यस्तो अवसर पाएको थिएन। विगतका अनुसन्धानलाई हेर्ने हो भने अपराधीले गरेका क्रियाकलाप प्रहरीले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था थियो। अहिले प्रहरीले राज्यको सहयोग पनि राम्रोसँग पाएको छ।
एउटै अभियोग खेपिरहेका दुई अभियुक्तलाई फरक व्यवहार किन भएको हो ? राज्यका विशिष्ट भूमिका निर्वाह गरिसकेको व्यक्ति पक्राउ परेपछि फरक हुन्छ। कानुनले सबैलाई समान भने पनि व्यवहारमा राज्यका विभिन्न अङ्गसँग जोडिएका व्यक्तिमा त्यो हुन्छ। यत्ति हुँदाहुँदै सुरक्षालाई महत्त्वपूर्ण रूपमा हेरिन्छ।
खासमा प्रहरी कहाँ चुकेको हो कि सुधार आवश्यक देखिएको हो ? प्रहरीले अनुसन्धान गरिसकेपछि प्राप्त सबुत प्रमाण तथ्यको आधारमा के मुद्दा चलाउने भन्ने विषयलाई निश्चित गर्नुपर्छ। कस्तो कार्य भएको वा कुन व्यक्तिको हकमा कुन दफा र उपदफा आकर्षित हुन्छ त्यहाँ ध्यान दिनुपर्छ। सरकारी वकिलले प्रहरीले ल्याएको कार्यमा मात्र भर पनि पर्दैन। उसले अन्यतर्फबाट पनि ध्यान दिएको हुन्छ। यो प्रकरण मानव बेचबिखनको अपराधसँग जोडिएको छ। यो भन्दा ठूलो अपराध अहिले अरू के हुनसक्छ ? अहिले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा नेताहरूको पानी बाराबार जस्तो देखिएको छ। लामो समयसम्म उहाँहरूको भेटघाट भएन। यो मुद्दा दर्ता भएर आएपछि भेटवार्ता जारी छन्। यो प्रकरणले हिजो पानीबाराबारको स्थितिमा रहेका नेता बन्द कोठामा अंकमाल गर्ने अवस्थामा पुगेका छन्। यो विषयलाई प्रहरीले निष्पक्ष ढंगले छानबिनमा अगाडि बढाउनैपर्छ।
प्रहरीबाट केही आमुख व्यक्तिलाई पोल्नको निम्ति तनाव दिने काम हुन्छ। किन प्रहरी व्यवसायिक बन्न नसकेको हो ? कि व्यवसायिकता भनेको यही हो ? यो मेरो ज्ञानमा छैन। कुनै पनि व्यक्तिको नाम पोल्ने सवालमा कसैलाई टचर वा तनाव दिने कुरा कानुनसँग मिल्दैन। यस्ता कुरा गर्न कानुनले सहमति दिँदैन। कानुनले प्रमाण खोज्छ। त्यो प्रमाणमा देखाइन्छ। प्रश्न उत्तर हुन्छ। प्रश्नको जवाफ सजिलै प्राप्त नभए प्रहरीले कडा मिजासका साथ सोध्नसक्छ। तर अरु कुरा म मान्दिन। प्रश्न उत्तर गर्न पाइन्छ। यो मान्छेको नाम पोल भन्ने हुँदैन। यो गलत हुन्छ।
काम गर्दै गर्दा तपाईंलाई नेताले थर्काएको कुनै अनुभव छ ? नेपाल प्रहरीको सकल दर्जाको विकासको रिमोट कन्ट्रोल उहाँहरूको हातमा छ। हाम्रो हरेक पदको मूल्यांकन हरेक वर्ष हुन्छ। सिनियर अफिसरको पनि मूल्यांकन हुन्छ। शैक्षिक योग्यताको मापदण्ड खास छ। म यो पदमा पुग्छु भन्ने कुरा उसलाई थाहा हुन्छ। तर प्रहरीमा रहँदा हरेक पक्षको सामना गर्नुपर्छ। आफ्नो वृत्तिविकास रोकिन्छ भनेर नाजायज व्यवहार सम्झौता गरेर हिँड्ने अवस्था आएको छ। त्यसको अन्त्य हुनुपर्छ। सबैले सुशासनको कल्पना मात्र गर्ने हो। अहिले राजनीति नभएको कुन क्षेत्र बाँकी छैनन्। त्यसैले देशको विकास सहज छैन।
त्यसो भए प्रहरीका उच्च अधिकृत अन्यायको महसुस नगरी घर गएका विरलै होलान् ? यो सत्य हो। आफैं बढुवा हुनुपर्नेमा पाइएन। उक्त पद १६ महिना रिक्त भयो। हामी पछिको व्याजमा प्रहरी वरिष्ठ उपरीक्षकबाट मेरो करियर यही हो। अब मेरो लागि ढोका बन्द भयो। भनेर सामान प्याक गरेका व्यक्ति विशिष्ट श्रेणीसम्म पुगेका छन्।
बालकृष्ण खाण र शेरबहादुर देउवा पत्नीको प्राप्त अडियोका आधारमा अनुसन्धान गर्न सकिन्छ ? सकिन्छ। यो प्रकृतिको मुद्दा पहिले पनि भएको छ। अडियो टेपको आधिकारिकता बारेमा ल्याबले टेस्ट गर्छ। कहाँ नेर मुद्दा कमजोर हुन्छ त्यसको तहतह जानुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम