देश/प्रदेश

पहिराका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द

By खबरहब

May 14, 2023

बलेवा– वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ-कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका-१० भकुण्डेको डब्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो ।

आज दिउँसोदेखि सुरु भएको वर्षासँगै डब्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । 

सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् ।

‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्का भन्छन्, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।’