फाइल तस्वीर

समाचार

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

By खबरहब

May 14, 2023

दाङ – घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका–८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए । प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई निजको निधन भएको बताएको छ ।

सुत्केरीपश्चात् पाठेघर खुम्चिई बन्द हुनुपर्नेमा रक्तस्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भए पनि रक्तस्राव बन्द नभएपछि आफन्तको स्वीकृतिमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । तर पनि रक्तस्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सक र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरुले आइसियुमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् ।