फाइल तस्वीर

देश/प्रदेश

रुसी सेनामा नेपाली युवा भर्तीबारे जानकारी छैन : एनआरएनए

By खबरहब

June 14, 2023

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन् । जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ । नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन् । भम्रण तथा विद्यार्थी भिसामा रुस पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ ।

तर, रुसमै बस्ने संघका अध्यक्ष डा. केसीले भने यस विषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए । ‘यस विषयमा हामीलाई केही जानकारी छैन । मैले पनि तपाईँले जस्तै सामाजिक सञ्जालमा देखेको हुँ,’ डा. केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन । दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु ।’ यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।