फाइल फोटो

देश/प्रदेश

बालबालिका अपहरणमा संलग्नलाई तीन वर्ष कैद

By खबरहब

June 14, 2023

राजविराज- दुई बालिकालाई अपहरण गरेको अभियोगमा सप्तरीको राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो ।

देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ । स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो ।

राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितका आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए ।

बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए ।