अपराध

अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूह सार्वजनिक

By खबरहब

June 14, 2023

काठमाडौँ- प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौँको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

वान एक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोडभन्दा बढीको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए ।

त्यस्तै, पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताए । पक्राउ परेका लामिछानेसँग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रमाणहरु पनि फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।