दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओम बहादुर क्षत्रीले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए ।
मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९-२०२१ र सन् २०२१-२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको उनले बताए ।
झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दाको प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ-संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा सक्रिय हुनको लागि आफूले सचिवको उम्मेदवारी दिएको बताए ।
उनका अनुसार एनआरएनएको तलदेखि माथिसम्म रहेका समस्या, शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताए ।
यसैगरी, एनआरएनए कतारको सचिवमा एकराज कटवालले पनि उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य रहेका कटुवालले सन् २०२३–२०२५ कार्यकालको लागि भने सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कटवाल सन् २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरूको हकहितको कार्यमा सक्रिय हुँदै आएका छन् । संघको निर्वाचन २१ जुलाई तथा दशौँ महाधिवेशन २८ जुलाईमा हुँदैछ ।