फाइल तस्वीर

देश/प्रदेश

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

By खबरहब

August 14, 2023

गोरखा– केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा हिजो साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

उनले पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको बताए । सडक माथिबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनको भनाइ छ । पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधन आवागमन ठप्प भएको छ ।

सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएको उनले बताए । अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका सहरमा छुट्ने सवारी साधन पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।