राजनीति

नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाटमा

By खबरहब

September 14, 2023

काठमाडौं– संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । 

पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम देखिन्छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका छन् । अहिले पनि श्रद्धाञ्जली दिने कार्य चलिरहेको छ । 

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको हो । गएको मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । 

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो । 

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।